अनन्त यात्रा

टेक्छु कोलम्वस पाइला

विना तयारी

विना कम्पास

विना मार्गचित्र

पछ्याउछु समय

सम्भावनाका धेरै मार्गहरुवाट

सके जहावाट पनि

पुग्न सकिन्छ चाहेको ठाउ

यति मात्र हो यात्रालाई ठम्याउने कसरी <
कोलम्वस पाइला

हुइकिन्छु अविचलित

कठिनाइ वुक्याउदै निरन्तर पूर्व

जहावाट प्रत्येक विहानीको न्वारन हुन्छ

पुगौ तेहिनेर भन्छु

तर अदृश्य छ त्यो गन्तव्य

निर्जन लाग्छ आफैले टेकेको माटो पनि

घाम निल्दै प्रतिगामी वन्छ वादल पनि

उकाली ओरालीले निल्छ गोरेटोलाई पनि

मलाई भने विघ्न हतार छ

कसैले नदेखेको

कसैले नभेटेको

कुमारी आविष्कार चुम्न

भर्याङ चढ्दैछन् उमेरहरु

सिमलको भुवा झै उड्दैछन् वैशहरु

तर पनि निश्चिन्त

जोस मात्र उध्याई रहन्छु नया पलहरु छुने

वास्तवमा पुग्न भने कहि पगीएको छैन

सिर्फ आकाङक्षा वाचेको छु एकरास
पुगिएला भन्ने

त्यसैले कोलम्वस पाइला

यन्त्रवत ठेल्छु कठ्याङ्ग्रीएको हिउद मुसार्दै

वेगिन्छु झरीवादल रुझदै

खोइ अत्तोपत्तो छैन त्यो गाउको

आकासलाई जतावाट हेरे पनि उस्तै देखिने

वाटो जता हिडे पनि त्यस्तै भेटिने

समयाजिंगरले चपाएको त होइन जिन्दगी <
सन्देहले छाम्छु कोलम्वस टाउको

भयले पसिना पुच्छु

निर्धक्क वनेर

धकेल्छु कोलम्वस पाइला निरन्तर उतै

खै कुन्नी काहा छ पुग्नको त्यो अर्को छेउ <
भकुण्डो व्रम्हाण्ड

सायद छैन कि त्यो भन्नु <
किनभने उस्तै मात्र लागिरहन्छ जहिले पनि

सोच्छु कोलम्वस पाइलाको टाउकोमा

आइन्सटाइन गिदी थपौ

शरीरमा हर्कुलस रोपौ

साहासमा नेपोलियन वाचौ

र अनवटम दावेर हुइकौ रकेट झै यात्रामा

विचार यसैगरी तोड्छु मोड्छु

पुन जोड्छु

अनि आफैलाइ सोध्छु

के जिन्दगी भन्दा लामा हुन्छन् यात्राहरु <
निर्विवाद

किनभने युग हिड्छ कोलम्वस पाइला

त्यसैले पुग्नुको तिर्खा वोकेर म

अनन्त यात्रा

टेक्छु कोलम्वस पाइला

विना तयारी

विना कम्पास

विना मार्गचित्र