बग्छु समय
अबिरल,अबिछिन्न

नदिको किनारै किनार

उमेर

थप्दै

जीवन सागरमा

उर्लन्छु छाल अनगिन्ति

र पछारिन्छु ज्वारभाटा त्यसैगरी

मात्रै वग्नुको अनुभूति

संगाल्दै

वढ्छ वढीरहन्छ समय रथ

अनि

यात्राको आरोह अवरोहमा

टेकिन्छन् वर्तमान

र निधारमा अतीत वनेर डामीन्छन् समय रेखाहरु

रित्तिए जस्तो भोग्छु प्रताडीत जीवन

र पनि छाम्छु असफल

गन्तब्यका गोरेटाहरु

तर ओझेल परेका दिनहरुले

बिनासित्ती

चिमोट्छ मनहरु

आकांक्षाको मृत्युले

शोकाकुल वनेको छातीमा

जिजीविषा

अङकुरीन खोज्छ विपतीमा

जति वाटो छक्याउदै हिडे पनि

वाध्यताको पासोमा

जानीजानी फसेको म

निरीह प्राणी

उम्कन चाहेर पनि

काहा स्वतन्त्र भएको छु र त्यहावाट

वरु व्याकुलताले निसासीएको छु झनझन

धेरै प्रयास पाश्चात

अलिकति जीवन भेट्दा

यी दुइ पाइला हिडाएको छु सहज यात्राको नाममा

अक्करै अक्कर

निर्जन टापूहरुमा

के थाहा र ?

त्यहा पनि समयको धारीलो खुडाले

छप्किनु पर्छ भनेर

आखिर सहनै पर्यो त्यो पनि

जीवनै सम्झेर

वाच्छु यसरी नै वर्तमान कोतार्दै अधुरो सपना

अहंकार वाचेर

पहिचान विर्सेको माहौलमा

फ्याक्छु प्रतिजिवन

दुनियाको आखामा

कहिले छरपस्ट भत्किन्छु

र त्यसरी नै जोडीन्छु शिशीफष प्रयास

बग्छु समय

अबिरल,अबिछिन्न

नदिको किनारै किनार

उमेर

थप्दै

जीवन सागरमा

उर्लन्छु छाल अनगिन्ति

र पछारिन्छु ज्वारभाटा त्यसैगरी

मात्रै वग्नुको अनुभूति

संगाल्दै

वढ्छ वढीरहन्छ समय रथ

अनि

यात्रा आरोह अवरोहमा

टेकिन्छन् वर्तमान

र निधारमा अतीत वनेर डामीन्छन् समय रेखाहरु

तर पनि

कुमारी प्रवाह

छलाङ्ग मार्दै

वग्छु हामफाल्दै निरन्तर….निरन्तर…..

एउटा जिवित धड्कनको

मुहान नसुकुन्जेल